नवप्रभात डेरीलाई अन्तर्राष्ट्रिय ‘उत्कृष्ट कृषि उद्योग’ पुरस्कार

नवप्रभात डेरीलाई अन्तर्राष्ट्रिय ‘उत्कृष्ट कृषि उद्योग’ पुरस्कार

काठमाडौं - नेपालको दुग्ध उद्योग क्षेत्रको अग्रणी संस्था नवप्रभात डेरी उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट एग्रो–इन्डस्ट्री अवार्ड (उत्कृष्ट कृषि उद्योग पुरस्कार)’ प्रदान गरिएको छ।

भारतको सोसाइटी फर कम्युनिटी मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट (SCMSD) र नेपालको नेपाल फार्मर्स एड्भाइजरी काउन्सिल (NFAC) को संयुक्त आयोजनामा जुन १० मा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त सम्मान प्रदान गरिएको हो।

“महिला तथा युवामार्फत कृषि व्यवसाय पारिस्थितिक प्रणालीको रूपान्तरण” विषयक सम्मेलनमा एशियाका विभिन्न मुलुकका कृषि विज्ञ, सरकारी प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। सम्मेलनका क्रममा कृषि, उद्योग तथा व्यवसाय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न देशका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

नेपालका तर्फबाट ललितपुरको पाटन औद्योगिक क्षेत्रमा सञ्चालित नवप्रभात डेरी उद्योग उत्कृष्ट कृषि उद्योगका रूपमा सम्मानित भएको हो। उद्योगका प्रतिनिधि प्रल्हाद दाहालले उक्त पुरस्कार ग्रहण गरेका थिए।

नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका अध्यक्ष डा. योगेन्द्र कार्कीका अनुसार कृषि तथा दुग्ध क्षेत्रको विकास, किसानको आर्थिक समृद्धि र स्वदेशी उत्पादनको प्रवर्द्धनमा नवप्रभात डेरी उद्योगले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो।

सम्मान प्राप्तिपछि उद्योगका कार्यकारी निर्देशक सुरेश तिमल्सिनाले यो उपलब्धि सम्पूर्ण नेपाली कृषक, दुग्ध उत्पादक, उद्यमी तथा शुभेच्छुकहरूको साझा सफलता भएको बताए। उनले उक्त सम्मानले कृषि तथा दुग्ध क्षेत्रको विकासमा अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न प्रेरणा मिलेको उल्लेख गरे।

अन्तर्राष्ट्रिय गुणस्तर मान्यता (आईएसओ) प्राप्त नवप्रभात डेरी उद्योगले हाल दैनिक करिब २५ हजार लिटर दूध प्रशोधन गर्दै आएको छ। उद्योगमार्फत दैनिक करिब १७ लाख रुपैयाँ बराबरको आर्थिक प्रवाह गाउँसम्म पुगिरहेको बताइएको छ।

उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईंका अनुसार ‘प्रभात’ ब्रान्डअन्तर्गत उत्पादित दूध तथा दुग्धजन्य सामग्री काठमाडौं उपत्यकासहित देशका विभिन्न बजारमा बिक्री वितरण हुँदै आएको छ।

प्रबन्ध निर्देशक तिमल्सिनाले नवप्रभात डेरीले विगतमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको उल्लेख गर्दै पछिल्लो पुरस्कारले नेपालको दुग्ध उद्योग र स्वदेशी उत्पादनको प्रवर्द्धनमा उद्योगले पुर्‍याउँदै आएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको विश्वास व्यक्त गरे।

खबरपाटी
खबरपाटी