काठमाडौं - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिमेल हेल्थ एन्ड पर्फर्मेन्स प्रोजेक्ट अर्थात् महिला स्वास्थ्य तथा प्रदर्शन परियोजना सुरु गरेको छ।
यस पहलको उद्देश्य महिला फुटबल खेलाडीहरूका लागि अनुसन्धान, शिक्षा र सहयोगलाई थप सुदृढ बनाउनु हो।
विश्वभर महिला फुटबलको लोकप्रियता र सहभागिता बढ्दै गएको सन्दर्भमा यो परियोजनाले विशेषगरी महिला खेलाडीहरूका लागि उपयुक्त प्रशिक्षण विधि, स्वास्थ्यसम्बन्धी स्रोतसामग्री तथा प्रदर्शन सुधारसम्बन्धी मार्गदर्शन उपलब्ध गराउने लक्ष्य राखेको छ।
फिफाको यो परियोजना महिला खेलाडीहरूसम्बन्धी अनुसन्धान तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको हो। यसको मुख्य लक्ष्य खेलाडीहरूले आफ्नो खेल जीवनभर व्यक्तिगत आवश्यकताअनुसार अझ प्रभावकारी सहयोग प्राप्त गर्न सकून् भन्ने हो। यो पहल महिला खेलाडीहरूको शारीरिक अवस्था, व्यक्तिगत आवश्यकता तथा उनीहरू रहेको वातावरणलाई ध्यानमा राखेर उनीहरूको समग्र स्वास्थ्य र प्रदर्शनलाई अधिकतम बनाउन आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले तयार गरिएको छ।
यस परियोजनाले खेलकुद क्षेत्रमा लामो समयदेखि रहेको एउटा महत्वपूर्ण समस्यालाई पनि सम्बोधन गर्छ । परम्परागत रूपमा महिला खेलाडीहरूलाई पुरुषहरूलाई केन्द्रमा राखेर बनाइएका प्रशिक्षण, प्रशिक्षक प्रणाली तथा मूल्याङ्कन प्रक्रियाअनुसार तयार गरिँदै आएको थियो।
फिफाले यो परियोजनामार्फत महिला खेलाडीहरूको विशिष्ट शारीरिक तथा स्वास्थ्यसम्बन्धी आवश्यकतालाई केन्द्रमा राखेर उनीहरूको दीर्घकालीन स्वास्थ्य, सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने अपेक्षा गरेको छ।