भैरहवा - वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्त बन्दै आएको बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ ।
सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् ।
निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको छ । सवारीसाधन सञ्चालनका लागि सडकको अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ ।
यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेकामा बुटवल–नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन् ।
सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यले गति लिएसँगै सडकमा सवारीसाधनको चाप व्यवस्थापन हुन थालेको छ । आवागमनमा सुधार देखिएको छ ।
विसं २०७५ देखि विस्तारको काम सुरु भएको यस सडकखण्डमा निर्माण ढिलाइका कारण यात्रुले लामो समय सास्ती भोग्नुपरेको थियो । तर, हाल काम सम्पन्नतर्फउन्मुख भएपछि यात्रु, व्यवसायी तथा यातायात व्यवसायीले राहत महसुस गरेका छन् ।
आयोजना पूरा भएपछि बुटवल–नारायणगढ सडकखण्डमा यात्रा अझ सुरक्षित, सहज र समय बचत हुनेछ ।