आज देशका केही स्थानमा वर्षा,केही भूभागमा गर्मी हुने

आज देशका केही स्थानमा वर्षा,केही भूभागमा गर्मी हुने

काठमाडौं –  देशका केही स्थानमा वर्षा हुनेछ । केही भूभागमा गर्मी हुनेछ । वर्षा कम भएसँगै तराईका केही स्थानमा तातो दिन हुने सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।

विभागले दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

मधेस प्रदेशमा तथा कोसी प्रदेशको तराईमा तातो दिन हुने पूर्वानुमान छ ।

विभागका अनुसार राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भूभागका एकदुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना छ । 

मौसमविद् विनोद पोखरेल मनसुन भित्रने समय अझै अनिश्चित रहेको बताउँछन् । पश्चिमी वायु कमजोर रहेकाले केही दिन देशका धेरै स्थानमा वर्षा नहुने उनको भनाइ छ । 

“पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षाको सम्भावना भए पनि तराईमा पानी पर्ने देखिँदैन,” उनी भन्न्छन्, “मनसुन दक्षिण भारत (केरला)सम्म पनि आइपुगेको छैन ।” 

नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो । तर, यो औसत मिति भएकाले यो भन्दाअगाडि वा पछाडि पनि मनसुन भित्रिने सम्भावना रहन्छ । भारतमा जति चाँडो मनसुन प्रवेश हुन्छ, त्यति नै छिटो नेपाल आउने सम्भावना रहन्छ । 

खबरपाटी
खबरपाटी