नेपाल–रोमानिया व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

नेपाल–रोमानिया व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

काठमाडौं, जेठ १२ - नेपाल तयारी पोशाक उद्योग संघ (गार्मेन्ट एसोसिएसन–नेपाल) को आयोजनामा काठमाडौंमा ‘Inauguration and Interaction Program on RMG Sector and Nepal–Romania Business Forum’ विषयक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल गरिएको थियो।

संघका अध्यक्ष पुपति देव पौडेलले स्वागत मन्तव्य राख्दै नेपाल तयारी पोशाक उद्योग संघ र रोमानियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच सन् २०२३ अगस्ट २७ मा सम्पन्न सहकार्य प्रोटोकलले दुई देशबीच व्यापार, लगानी, पूर्वाधार विकास, सीप विकास तालिम, सूचना प्रविधि, ई–कमर्स तथा B2B र B2C व्यापारिक सम्बन्ध विस्तारमा नयाँ सम्भावना सिर्जना गरेको बताए।

उनका अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालबाट रोमानियातर्फ करिब १.१७ मिलियन अमेरिकी डलर बराबरको निर्यात भएको छ भने रोमानियाबाट नेपालमा करिब ६९० हजार अमेरिकी डलर बराबरको आयात भएको छ। नेपालबाट रोमानियामा निर्यात हुने प्रमुख वस्तुमा तयारी पोशाक रहेको उनले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार तथा लगानी सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकला, जडीबुटीजन्य वस्तु, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए। उनले रोमानियालाई युरोपेली बजारको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै पर्यटन, जलविद्युत, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा लगानीका अवसरहरू रहेको धारणा राखे।

भारत, नेपाल तथा बंगलादेशका लागि रोमानियाका राजदूत सेना लतिफले नेपाल–रोमानिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा रोमानियामा कार्यरत नेपाली समुदायको योगदानबारे चर्चा गरिन्। त्यस्तै आर्थिक कन्सुलर आयोनुट भिजिरुले रोमानियाको आर्थिक तथा विकास अवस्थाबारे प्रस्तुति दिएका थिए।

नेपाल–रोमानिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष बबिता पौडेलले दुई देशका व्यवसायिक समुदायबीच दीर्घकालीन सहकार्य, लगानी संवाद तथा पारस्परिक हितका अवसर विस्तारमा चेम्बरले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

यस्तै, रोमानियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकी प्रतिनिधि निकोलेटा इओआना चिउफुदेआनले दुई देशका चेम्बरबीचको सहकार्यप्रति आभार व्यक्त गर्दै उद्यमशीलता, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनमा संयुक्त प्रयास अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा नेपाल र रोमानियासम्बन्धी भिडियो प्रस्तुति समेत प्रदर्शन गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमले दुई देशबीचको आर्थिक, व्यापारिक तथा लगानी साझेदारीलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी