काठमाडौं – नेपाल विद्युत् प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालय, विद्युत् व्यापार विभागले स्थानीय तहको लगानीमा निर्माण हुने साना सौर्य विद्युत् आयोजनासँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गर्न सूचना जारी गरेको छ । प्राधिकरणले तोकिएको मापदण्ड पूरा गरेका आयोजनालाई सम्पर्क गर्न आग्रह गरेको हो ।
प्राधिकरण सञ्चालक समितिको २०८२ कात्तिक १९ गते बसेको १०२५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ भित्र सम्झौता गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । निर्णयअनुसार स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने र एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य आयोजनासँग सम्झौता गरिनेछ ।
यस्ता आयोजनाबाट उत्पादित विद्युत्को खरिददर विद्युत् नियमन आयोगको २०८२ पुस २० गतेको निर्णयअनुसार वार्षिक मूल्यवृद्धि नहुने गरी प्रतियुनिट चार रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।
सूचनाअनुसार इच्छुक प्रवर्द्धक कम्पनीहरूले आउँदो वैशाख २८ गतेभित्र आवश्यक कागजातसहित विभागमा निवेदन दिनुपर्नेछ । प्राधिकरणले आयोजनालाई ३३/११ केभी ग्रीड वा वितरण सबस्टेसनमा जडान गर्न सकिने जनाएको छ । त्यस्तै, ११ केभी वितरण लाइनमार्फत आवश्यक सुरक्षा व्यवस्थासहित ‘टी–जडान’ गर्न सकिने व्यवस्था गरिएको छ । साथै, ग्रीड प्रभाव अध्ययनबिना नै जडान सम्झौता सम्पन्न गर्न सकिने उल्लेख छ ।
सम्झौताका लागि आवश्यक कागजातमा निवेदन, कम्पनी दर्ता प्रमाणपत्र, स्थानीय तहको कम्तीमा ५१ प्रतिशत शेयर लगानी विवरण, कम्पनीको प्रबन्धपत्र र नियमावली, कर चुक्ता प्रमाणपत्र, विद्युत् सर्वेक्षण अनुमति पत्र, उत्पादन अनुमति पत्र (लागु भएमा), स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, सम्भाव्यता अध्ययन प्रतिवेदन तथा निर्माण तालिका, जग्गासम्बन्धी प्रमाणपत्रलगायत समावेश छन् ।
यस निर्णयले स्थानीय तहको सहभागितामा साना सौर्य ऊर्जा आयोजनाको विकासमा टेवा पुग्ने र ऊर्जा क्षेत्रमा स्थानीय तथा निजी लगानी बढ्ने अपेक्षा गरिएको छ ।