आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालको पहिलो जित, इटाली ५० रनले पराजित

आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालको पहिलो जित, इटाली ५० रनले पराजित

काठमाण्डौ — रुविना क्षेत्री र पूजा महतोको उत्कृष्ट प्रदर्शनमा नेपालले रुवान्डामा चलिरहेको आईसीसी महिला च्यालेन्ज ट्रफीमा पहिलो जित हात पारेको छ । नेपालले इटालीलाई ५० रनले हरायो । नेपालले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र ६२ रनमा समेटियो ।

५ विकेट गुमाउँदासम्म इटालीले २८ रन मात्रै बनाएको थियो । इटालीकी चाथुरिका महामलागेले २२ रन जोडिन् । नेपालकी रुविनाले २ ओभर ४ बलमा १ मेडनसहित मात्र ४ रन दिएर ४ विकेट लिइन् । रुविना प्लेयर अफ दि म्याच बनिन् । यस्तै कविता कुँवरले २ विकेट निकालिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । ओपनर सम्झना खड्का १६ रनमा र बिन्दु रावल १५ रनमा आउट भए । इटालीकी इमिलोया बारट्रामले ३ ओभरमा २१ रन दिएर ३ विकेट लिइन् ।

दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । नेपालले २ अंक बनाएको छ । नेपाल हिजो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । दोस्रो खेल खेलेको इटालीको यो पहिलो हार हो ।

इटालीले हिजो घरेलु टोली रुवान्डालाई डिएस मेथडमा १६ रनले हराएको थियो । इटालीको पनि २ अंक छ । नेपालले पर्सि रुवान्डासँग खेल्नेछ ।

खबरपाटी
खबरपाटी