नेप्सेमा नयाँ व्यवस्था लागू, अब शेयर मूल्य १५%सम्म घटबढ हुने

नेप्सेमा नयाँ व्यवस्था लागू, अब शेयर मूल्य १५%सम्म घटबढ हुने

काठमाण्डौ – भोलिदेखि शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको हो । नयाँ नीतिअनुसार प्रि–ओपन सेसनको मूल्य सीमा ५ प्रतिशत कायम गरिएको छ, जुन यसअघि २ प्रतिशत थियो ।

यसले बजार खुल्नेबित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा छ । यसैगरी, नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर अब तीन तहको सट्टा दुई तहको रहनेछ । कारोबार शुरू भएको दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ भने ८ प्रतिशतले घटबढ भएमा त्यो दिनको सम्पूर्ण कारोबार बन्द हुनेछ ।

यस्तै, आईपीओ प्रक्रियालाई पारदर्शी बनाउन सेबोनले नयाँ मापदण्ड वैशाख १ देखि लागू गरेको छ, जसअनुसार आवेदक कम्पनीहरूको वित्तीय अवस्थाको जाँच लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गराइनेछ । 

खबरपाटी
खबरपाटी