आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको छ । एम चिन्नास्वामी रंगशालामा गएराति सम्पन्न खेलमा बैंगलुरुले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९ ओभर ४ बलमा २  सय ७ रन बनाउँदै अलआउट भयो ।

बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए । ज्याकोब डफी, अभिनन्दन सिंह, क्रुनाल पाण्ड्याले समान दुई विकेट तथा सुयाष शर्माले एक विकेट लिए । चेन्नईका लागि सरफराज खानले सर्वाधिक ५० रन बनाए । टस हारेर ब्याटिङमा आएको बैंगलुरुले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर चेन्नईविरुद्ध २ सय ५० रन बनाएको थियो ।

जितसँगै बैंगलुरुले प्रतियोगितामा चार अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ । अहिलेसम्म तीन खेल खेलेको चेन्नई तीनै खेलमा पराजित हुँदै अंकविहीन छ ।

यस्तै हिजै भएको खेलमा लखनउले विजयी सुरुवात गरेको छ । ऋषभ पन्तको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हरायो । यस सिजनको लखनउको यो पहिलो जित हो ।

जितबाट पहिलो दुई अंक जोडेको लखनउ अंक तालिकाको ७ औँ स्थानमा छ । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदरावादले दिएको १ सय ५७ रनको लक्ष्य लखनउले १९ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा गरेकाे हाे  ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको हैदरावादले लखनउविरुद्ध निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । तीन खेल खेलेको सनराइजर्स तालिकाको ५ औँ स्थानमा छ ।

आईपीएलमा आज पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । खेल कोलकाताको इडेन गार्डन क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

खबरपाटी
खबरपाटी