काठमाडौं - पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राख्ने म्याद आज सकिँदैछ।
गत आइतबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ५ दिन थुनामा राख्न दिएको अनुमति आज सकिन लागेको हो।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै आधार दिँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिनका लागि थुनामा राख्ने अनुमति दिएको थियो। त्यो म्याद आज सकिन लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए। आज म्याद सकिएसँगै भोलि दुवैजनालाई म्याद थप गर्ने कि छाड्नेबारे अदालतमा पेश गरिने पवक्ता भट्टराईले जानकारी दिए।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो।
लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो।
नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचको लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा चिकित्सकको सुझावअनुसार त्यहीँ भर्ना गरिएको छ भने लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ।