काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने गृहमन्त्री गुरूङको भनाइ थियो।
आज प्रहरी प्रधान कार्यालमया भएको कार्यक्रममा गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए।
नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो।
नागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाका लागि उच्चतम प्रयोग गर्न उनले जोड दिए।
प्रहरी कर्मचारीको वृत्ति विकास कार्यसम्पादन एवं वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै गृहमन्त्री गुरूङले साङ्गठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकूल प्रविधिमैत्री एवं साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए।