काठमाडौँ - नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुने बताएका छन्।
उनले सामाजिक सञ्जालबाट गलत निर्णयले दुई तिहाइको सरकारको शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको बताए।
प्रहरीले आफूहरूमाथि दमन गरेको बताउँदै बस्नेतले यही अवस्था रहिरहे भोलि देशभर आन्दोलन चर्काउने चेतावनी दिए।
‘यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ, साथै आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ।’
उनले लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ।’
उनले लेखेका छन्, 'के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ? हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्? तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गरौँला। दुईतिहाइको दम्भ बन्द गर। घाइतेहरूको तुरुन्त उपचार गर। गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर।'