रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै

रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै

रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।

आज नवलपरासी ९बर्दघाट सुस्तापूर्व०, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, झापा,  मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।  पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ ।

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

खबरपाटी
खबरपाटी