अब च्याटजीपीटीबाटै अनलाइन ठगी पहिचान गर्न सकिने, यसरी प्रयोग गर्नुहोस् निःशुल्क

अब च्याटजीपीटीबाटै अनलाइन ठगी पहिचान गर्न सकिने, यसरी प्रयोग गर्नुहोस् निःशुल्क

काठमाडौँ । अनलाइन ठगी (स्क्याम) का शैलीहरू दिनप्रतिदिन जटिल र पहिचान गर्न असम्भव जस्तै बन्दै गएका बेला प्रयोगकर्ताहरूका लागि एउटा शक्तिशाली सुरक्षा कवच सार्वजनिक भएको छ । प्रख्यात साइबर सुरक्षा कम्पनी माल्वेयरबाइट्सले च्याटजीपीटीसँग सहकार्य गर्दै एआई च्याटबट भित्रै एकीकृत सुरक्षा सेवा सुरु गरेको हो ।

माल्वेयरबाइट्सका अनुसार यो च्याटजीपीटीभित्र सिधै उपलब्ध हुने विश्वकै पहिलो साइबर सुरक्षा सेवा हो । यो एकीकरणले प्रयोगकर्ताहरूलाई च्याट छोडेर अन्यत्र नगईकन शङ्कास्पद लिङ्क, फोन नम्बर र ईमेलहरू तत्कालै जाँच गर्न अनुमति दिन्छ । यो सेवा माल्वेयरबाइट्सको दशकौँ पुरानो 'थ्रेट इन्टेलिजेन्स' डेटाबेसमा आधारित छ ।


जसमा फिशिङ स्क्याम, मालवेयर र हानिकारक डोमेनहरूको विशाल तथ्याङ्क रहेको छ । यसले लिङ्कहरूको रेपुटेसन (प्रतिष्ठा), स्वामित्व विवरण र जोखिमको स्तर तत्काल विश्लेषण गर्दछ ।

कसरी गर्ने प्रयोग ?

यो सुविधा प्रयोग गर्न निकै सरल छ र यसका लागि माल्वेयरबाइट्सको छुट्टै अकाउन्ट वा शुल्क आवश्यक पर्दैन । सबैभन्दा पहिले आफ्नो च्याटजीपीटी एप वा ब्राउजरमा जानुहोस् ।

अब Settings भित्र रहेको Apps विकल्पमा क्लिक गरी Malwarebytes खोज्नुहोस् र Connect बटन थिच्नुहोस् । एक पटक कनेक्ट गरेपछि यो सधैँका लागि उपलब्ध हुनेछ ।

यदि तपाईंलाई कुनै मेसेज वा इमेल शङ्कास्पद लाग्यो भने च्याटजीपीटीमा @Malwarebytes, Malwarebytes, is this a scam? (के यो ठगी हो ?) भनेर सोध्न सक्नुहुन्छ । तपाईंले शङ्कास्पद मेसेजलाई पेस्ट गर्न वा त्यसको स्क्रिनशट अपलोड गर्न सक्नुहुन्छ ।

माल्वेयरबाइट्सले उक्त मेसेजमा प्रयोग गरिएको भाषा, पठाउनेको विवरण र लिङ्कहरूको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्छ । माल्वेयरबाइट्सका अनुसार यसले ३० दिनभन्दा कम समयअघि दर्ता भएका नयाँ डोमेनहरू, रिडाइरेक्ट हुने लिङ्कहरू र अन्तर्राष्ट्रिय स्क्याम अपरेसनमा प्रयोग हुने फोन नम्बरहरूलाई तुरुन्तै पहिचान गरी चेतावनी दिन्छ ।

यदि कुनै सामग्री सुरक्षित देखिएन भने माल्वेयरबाइट्सले प्रयोगकर्तालाई 'ब्लक गर्ने', 'जवाफ नदिने' वा 'आधिकारिक माध्यमबाट मात्र सम्पर्क गर्ने' जस्ता व्यावहारिक सुझावहरू पनि दिनेछ ।

यो सुविधाको अर्को रोचक पक्ष भनेको 'टु–वे रिपोर्टिङ' हो । जसको अर्थ यदि प्रयोगकर्ताले कुनै नयाँ प्रकारको स्क्याम फेला पारेमा च्याटजीपीटीभित्रै रहेको Report as suspicious बटन थिचेर सिधै रिपोर्ट गर्न सक्छन् ।

यसले कम्पनीको डेटाबेसलाई अझ बलियो बनाउन र अन्य प्रयोगकर्ताहरूलाई त्यस्ता ठगीबाट जोगाउन मद्दत पुर्‍याउँछ । यो नयाँ फिचर च्याटजीपीटीका नि:शुल्क, प्लस, टिम र इन्टरप्राइज सबै तहका प्रयोगकर्ताहरूका लागि उपलब्ध रहेको छ ।

यो सुविधाले अनलाइन ठगी पहिचान गर्न ठुलो मद्दत गरे पनि यसले तपाईंको डिभाइसमा एन्टिभाइरस सफ्टवेयरको विकल्प भने दिँदैन । यो एक 'रियल-टाइम' सुरक्षा सहयोगी मात्र हो, जसले तपाईंलाई क्लिक गर्नुअघि वा पैसा पठाउनुअघि सचेत गराउँछ ।

 

खबरपाटी
खबरपाटी