काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अघि दुई वार्म अप खेल खेल्ने भएको छ।
आइसीसीले सार्वजनिक गरेको वार्मअप खेलका तालिका अनुसार नेपालले विश्वकप अघि युएई र क्यानडासँग खेल्ने भएको छ।
जस अनुसार नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्ने छ भने यो खेल साँझ सबा ५ बजेदेखि शुरु हुने छ। त्यस्तै अर्को खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ। यो खेल दिउसो सवा १ बजेदेखि शुरु हुने छ।
विश्वकपको तयारीका लागि श्रीलंका गएको नेपाली टिम भारत पुगेको छ भने अब वार्मअप खेल अघि नेपाली टिमले भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने तालिका रहेको छ।
नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ। आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ।
नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ। नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ।