माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो फागुनको पहिलो हप्तादेखि

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो फागुनको पहिलो हप्तादेखि

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेष्ट जिसिएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ । 

प्रतियोगितामा २० देशका झन्डै १ हजार ५ सय खेलाडीको सहभागिता रहने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले हिजो काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार गेरोगी/पुम्सेतर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी पनि सहभागी हुने सङ्घका सदस्य कुमार लामा घिसिङले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न झन्डै ३ करोड रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घका सल्लाहकार परिषद्का अध्यक्ष एवम् तेक्वान्दो सङ्घका पूर्वअध्यक्ष प्रकाशशम्शेर राणाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १३ उपसमिति पनि गठन गरिएका छन् । ६ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू काठमण्डौको त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा खेलाइने जनाइएको छ ।

खबरपाटी
खबरपाटी