काठमाडौं। पर्वतारोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकलाई बिरामी बनाएर उद्धार गर्दै ठगी गर्ने कम्पनीहरुको नाम सार्वजनिक गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्वतारोहण तथा ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई ठगी गर्दै कसरी फेक रेस्क्यू हुँदै आएको छ भन्नेबारे जानकारी गराएको हो।
सीआईबीले आइतबार पत्रकार सम्मेलन गरी तीन वटा कम्पनीमार्फत फेक रेस्क्यू भएको जानकारी दिएको हो। माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको सीआईबीको अनुसन्धानबाट खुलेको प्रमुख मनोज केसीले जानकारी दिए। उनले यो उद्धारबाट १० करोड बढी अमेरिकी डलर बिमा दाबी गरेको पाइएको जानकारी दिए।
नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ। उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ। एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो। उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ।
स्वर्गीय पर्यटनमन्त्री रविन्द्र अधिकारीले २०७५ सालमै छानविन समिति बनाएर कारबाहीका लागि सीआईबीसहित विभिन्न निकायलाई पत्राचार गरेका थिए। तर, हालसम्म कुनै पनि निकायले फेक रेस्क्यूमा संलग्नहरुलाई कारबाही गरेको छैन। सीआईबीको प्रवेशपछि भने कारबाही हुनेमा विश्वस्त भएको पर्यटन व्यवसायीको भनाइ छ।