राष्ट्रियसभाको आइतबार सम्पन्न निर्वाचनमार्फत् देशभरबाट १८ जना सदस्य निर्वाचित

राष्ट्रियसभाको आइतबार सम्पन्न निर्वाचनमार्फत् देशभरबाट १८ जना सदस्य निर्वाचित

काठमाडौं – राष्ट्रियसभाको आइतबार सम्पन्न निर्वाचनमार्फत् देशभरबाट १८ जना सदस्य निर्वाचित भएका छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेबीचको तालमेल भए अनुसार नै सदस्यहरु निर्वाचित भए। जसअनुसार नेपाली कांग्रेसका ९, नेकपा एमालेका ८ र लोसपाका एक जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन्। 

कोशी प्रदेशबाट दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र महिलातर्फ पनि एमालेकै उम्मेदवार रोशनी मेचे विजयी भएका छन्। कोशीमा मतदानअघि नै खुल्ला सदस्यमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका थिए। 

मधेश प्रदेशमा कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण, एमालेबाट रेखाकुमारी झा र लोसपाबाट महन्थ ठाकुर निर्वाचित भएका छन्। 

कांग्रेसका पासवान दलित र कर्ण अल्पसंख्यक कोटाबाट निर्वाचित भएका हुन्।  झा महिला र ठाकुर अन्य समूहबाट उम्मेदवार थिए। 

वागमती प्रदेशमा पनि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कांग्रेसकी गीता देवकोटा र नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्। 

यस्तै, गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट निर्वाचित भएकी हुन्। लुम्बिनी प्रदेशमा कांग्रेसका बासुदेव घिमिरे जंगली अपाङ्गता भएकाहरुको समूहबाट र खुलाबाट चन्द्रबहादुर केसी विजयी भएको निर्वाचन आयोगले जनाएको छ। लुम्बिनीमा महिला कोटाबाट एमाले नेतृ रामकुमारी झाँक्री निर्वाचित भएकी छिन्।

कर्णालीमा कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल निर्वाचित भएका छन्। कर्णालीमा दुई पदका लागि मात्र निर्वाचन भएको थियो। दुबैमा कांग्रेस र एमालेले एक एक सिट बाँडेका थिए ।

सुदूरपश्चिममा पनि नेपाली कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीला भण्डारी विजयी भएकी छिन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा भएको मतदानमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको थियो । 

नवनिर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि सुरु हुनेछ। उनीहरुको कार्यकाल ६ वर्षको हुनेछ। 

खबरपाटी
खबरपाटी