राष्ट्र बैंकले लिने कतिपय नीतिहरू अव्यावहारिक भएका कारण निष्क्रिय कर्जा बढ्ने गरेको विज्ञहरूको भनाई

राष्ट्र बैंकले लिने कतिपय नीतिहरू अव्यावहारिक भएका कारण निष्क्रिय कर्जा बढ्ने गरेको विज्ञहरूको भनाई

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले लिने कतिपय नीतिहरू अव्यावहारिक भएका कारण निष्क्रिय कर्जा बढ्ने गरेको विज्ञहरूले बताएका छन् । काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा विज्ञहरूले निष्क्रिय कर्जा बढ्नुका एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरू रहेको बताएका हुन् ।
पूर्वबैंकर ज्ञानेन्द्र ढुङ्गानाले राष्ट्र बैंकका निर्देशनहरू अव्यावहारिक हुँदा निष्क्रिय कर्जा बढेको बताउनुभयो । उहाँका अनुसार कर्जा रिकभरि गर्न ऋणीलाई चिठी कट्ने गरिएको छ । नतिरे ३५ दिने कालोसूचीको सूचना निकाल्ने र लिलाम गर्ने गरिएको छ । तर त्यो लिलामी गर्न पनि सकस पर्ने गरेको छ ।
ढुङ्गानाका अनुसार भूकम्प, कोभिड–१९ को बेला सबै ऋणीलाई १०र२० प्रतिशत कर्जा दिन राष्ट्र बैंकले भनेको थियो । तर भूकम्पमा दिएका ऋण अझै ऋणीले तिरेका छैनन्, कोभिडमा दिएका कर्जा पनि बैंकहरूले उठाउन सकेको अवस्था छैन ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने राष्ट्र बैंकले ल्याएका नीतिहरू बैंकहरूले सही रूपमा कार्यान्वयन नगर्दा पनि समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार पुनर्कर्जाका सुविधाहरूलाई बैंकहरूले सही रूपमा प्रवाह नगर्दा कतिपय उद्योगी व्यापारीहरू अप्ठ्यारोमा परेर उनीहरू पलायन नै हुनुपर्ने स्थिति आएको छ ।
पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले नियमनमा चुक्दा पनि अहिलेको खराब कर्जा बढिरहेको बताउनुभयो । उहाँका अनुसार सही रूपमा कर्जाको नियमन भएका बैंकहरूको ब्यालेन्स सिट राम्रो छ । बैंकहरूले धितोका आधारमा मात्रै ऋण दिन नहुने उहाँको भनाइ छ ।
क्षेत्रीका अनुसार समग्र अर्थतन्त्र खस्कँदा व्यापार–व्यवसाय प्रभावित भएपछि खराब कर्जा बढेको हो । बजारमा देखिएको नकारात्मक मनोविज्ञानले पनि अहिलेको अवस्था सिर्जना गर्न भूमिका खेलेको जस्तो लाग्ने उहाँले बताउनुभयो ।

खबरपाटी
खबरपाटी