नेकपा एमालेले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने, नेपालमै उत्पादित मसिन प्रयोग गरिने

नेकपा एमालेले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने, नेपालमै उत्पादित मसिन प्रयोग गरिने

काठमाडौँ । नेकपा एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । आगामी २७ देखि २९ मंसिरसम्म हुने महाधिवेशनको निर्वाचन प्रक्रियालाई छिटो र छरितो बनाउन एमालेले पुनः विद्युतीय मसिन प्रयोग गर्न लागेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतदान प्रक्रियालाई व्यवस्थित र शीघ्र सम्पन्न गर्न भोटिङ​ मसिनको प्रयोग गर्न लागिएको जानकारी दिए । “हामीले महाधिवेशनमा विद्युतीय मसिनबाट मतदान प्रक्रिया अघि बढाउँदैछौँ । यसले प्रक्रियालाई छिटो छरितो बनाउँछ,” ज्ञवालीले भने, “सेवा प्रदायक कम्पनी छनोट गर्न कोटेसन माग गरिएको छ र केही दिनमै टुङ्गो लाग्नेछ ।”

महाधिवेशनमा सहभागी हुने करिब दुई हजार २७० प्रतिनिधिको सङ्ख्यालाई मध्यनजर गर्दै करिब १०० ओटा विद्युतीय मतदान मसिन आवश्यक पर्ने एमालेले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब २० मिनेट लाग्ने अनुमान गरिएको छ ।

महाधिवेशनले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

यसअघि २०७८ मंसिरमा सम्पन्न १०औँ महाधिवेशनमा पनि एमालेले विद्युतीय भोटिङ मसिन प्रयोग गरेको थियो । सो समयमा ५० लाख रुपैयाँ भाडा तिरेर ‘राम-लक्ष्मण इनोभेसन’ ले नेपालमै उत्पादित मसिन प्रयोग गरिएको थियो । यसपटक पनि सोही कम्पनीले सेवा दिने सम्भावना रहेको एमाले स्रोतले जनायो । मतदानका लागि लाग्ने खर्चको विवरण भने कम्पनीसँगको सम्झौतापछि मात्र यकिन हुने बताइएको छ ।
 

खबरपाटी
खबरपाटी