सेयरबजार बुम नहुनुका पाँच कारण : लगानीकर्ताको मनोबल गिरावटमा

सेयरबजार बुम नहुनुका पाँच कारण : लगानीकर्ताको मनोबल गिरावटमा

काठमाडौं — नेपालकै पूँजी बजार पछिल्ला महिनाहरूमा सुस्त गतिमा चलेको छ। सेयर बजारमा न त नयाँ लगानीको लहर देखिएको छ, न त पुराना लगानीकर्तामध्ये धेरैजना सक्रिय छन्। बजार बुममा नआउनुका पछाडि पाँच प्रमुख कारण रहेको विश्लेषकहरूले बताएका छन्।

सेयर विश्लेषक ‘टाइकून टप स्टक ट्रेडर’ का अनुसार, बजारको सुस्त अवस्थाका पछाडि निम्न पाँच कारण मुख्य रूपमा रहेका छन् —

पहिलो, प्रमोटरद्वारा पूँजी बाहिरिने क्रम

सेयरबजारबाट प्रमोटरहरूले ह्वारह्वारती पैसा निकाल्दै लगानीका अवसर घटाएका छन्। आन्तरिक लगानी घट्दा बजारमा नयाँ पूँजीको प्रवेश पनि सुस्त भएको विश्लेषण गरिएको छ।

दोस्रो, आइपिओ र राइट सेयरको नाममा अर्बौंको पूँजी पलायन

हालसम्म विभिन्न कम्पनीहरूले जारी गरेका आइपिओ र राइट सेयरका नाममा अर्बौं रुपैयाँ बजारबाहिर गइसकेको छ। यसले बजारमा तरलता (liquidity) घटाएको र लगानीकर्ताको मनोबल कमजोर बनाएको बताइन्छ।

तेस्रो, रिटेलर लगानीकर्ताको निष्क्रियता

रिलेटरहरू घाटामा रहेका छन्। उनीहरूले न त नयाँ सेयर खरिद गर्न सकेका छन्, न त पुराना बेच्न सहज भएका छन्। अघिल्लो चरणमा नाफा निकालेका लगानीकर्ताले पनि घर, गाडी, जग्गा र सुन खरिदमा रकम लगाएर क्यास भण्डार रित्याइसकेका छन्।

चौथो, संस्थागत लगानीकर्ताको मौन रणनीति

आम लगानीकर्ताको मनोबल घट्दै गएपछि संस्थागत लगानीकर्ताहरू पनि सतर्क बनेका छन्। घाटाको कारोबार गर्नुको सट्टा उनीहरूले हात बाँधेर बस्ने रणनीति अवलम्बन गरेका छन्। राजनीतिक स्थायित्व र बजारमा विश्वास पुनर्स्थापना नहुँदासम्म उनीहरू पर्खने पक्षमा छन्।

पाँचौं, कम्पनीहरूको कमजोर व्यवसायिक वृद्धि

लिस्टेड कम्पनीहरूको ग्रोथ अपेक्षाकृत सुस्त रहँदा दीर्घकालीन लगानीकर्ताहरू समेत निराश भएका छन्। कम्पनीहरूको रिपोर्ट र वित्तीय क्षमता हेर्दा “अब किन्नु त परै जाओस्, भएको पनि बेचिदिऊँ कि?” भन्ने अवस्था बनिसकेको छ।

विश्लेषक टाइकून टप स्टक ट्रेडर का अनुसार, राजनीतिक स्थायित्व, लगानीमैत्री नीतिहरू र लगानीकर्ताको आत्मविश्वास फर्किएपछि मात्र बजार पुनः बूममा आउने सम्भावना देखिन्छ। हालको अवस्थाले बजारमा ‘मनोवैज्ञानिक सुधार’को आवश्यकता औंल्याएको छ।

खबरपाटी
खबरपाटी