नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसअघि नेपाली महिला टोलीले भारतसँग मात्रै खेल्ने तय भए पनि इरानसँग पनि खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले सिलोङमा कात्तिक ७ गते इरानसँग र सिलोङमै घरेलु टोली भारतसँग कात्तिक १० गते खेल्नेछ । यसअघि नेपाल र भारतबीचको खेल कात्तिक ९ गते सिक्किममा हुने तय भएको थियो ।

नेपाली महिला फुटबल टोलीको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । न्यौपानेले मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक टोलीको नाम सार्वजनिक गरिसकेका छन् ।

एएफसी एशियन कप छनोटका क्रममा नयाँ प्रशिक्षक नियुक्त भएका फिफा प्रो लाइसेन्स प्राप्त बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकविहीन बनेको थियो ।

नेपाली महिला टोलीले एशियन कप छनोटयता कुनै पनि खेल खेलेको छैन । फिफा वरीयतामा नेपाल ८९औं, भारत ६३औं र इरान ७०औं स्थानमा छन् ।

खबरपाटी
खबरपाटी