तुइन खोलाको पहिरो हटाउन आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरेका छौ : मन्त्री घिसिङ

तुइन खोलाको पहिरो हटाउन आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरेका छौ  : मन्त्री घिसिङ

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताएका छन्।

पटकपटक त्यहाँ पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठूलो सुख्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उनले बताए। उनकाअनुसार पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था छैन, ठूलो जोखिम छ।

आजदेखि पानी परेन भने राति पनि काम गरेर भोलि बिहानसम्ममा सडक निर्वाधरुपमा सुचारु गरिने उनको भनाइ छ। घिसिङकाअनुसार पहिरोले सम्पूर्ण यातायात अवरुद्ध भने गरेको छैन।

वैकल्पिक रुपमा कान्ति पथ र त्रिभूवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको छ भने विपी राजमार्ग र कोदारी राजमार्ग निर्वाध चलिरहेका छन्। 

उनकाअनुसार एक डेढ महिनादेखि रोकिएका धेरै मालबाहक कन्टेनरहरु सीमा नाकाबाट पास भइसकेका छन्, अहिले निर्बाध रुपमा सञ्चालन भइरहेको छ।

मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ। सरकारले मुलिङ–नारायणगढ सडकखण्डलाई प्राथमिकतामा राखेर यथाशीघ्र यातायात सहज बनाउने तयारी अघि बढाएको उनको भनाई छ।

खबरपाटी
खबरपाटी