काठमाडौं – घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ४१ रनको जित निकाल्दै पाकिस्तानले एसीसी ट्वान्टी–२० एसिया कपको सुपर–४ मा स्थान पक्का गरेको छ ।
बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत १४७ रनको लक्ष्य पछ्याएको यूएई १७.४ ओभरमा १०५ रनमै समेटियो ।
यूएईका राहुल चोपडाले ३५ रन बनाए । ध्रुव पराशरले २०, मोहम्मद वासिमले १४ र अलिशान शराफूले १२ रन बनाए ।
पाकिस्तानका अब्रार अहमद, शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले समान दुई विकेट लिए । सइम अयुब र कप्तान सलमान आगाले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका फखर जमानले ३६ बलमा तीन छक्का र दुई चौकासहित सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी, शहिन शाह अफ्रिदीले अविजित २९, सलमान आगाले २० र मोहम्मद ह्यारिसले १८ रन बनाए ।
यूएईका जुनैद सिद्धिकीले चार, समरजित सिंहले तीन र ध्रुव पराशरले एक विकेट लिए ।
जितसँगै तीन खेलमा चार अंक जोडेको पाकिस्तान समूह ‘ए’को दोस्रो स्थानमा छ । पराजित यूएई समान खेलबाट दुई अंक जोड्दै बाहिरिएको छ । समूह ‘ए’बाट भारतले यसअघि नै सुपर ४ को यात्रा तय गरिसकेको छ ।