गुल्मी – कालीगण्डकी करिडोर, मदनभण्डारी राजमार्गसहित गुल्मीका तीन मुख्य सडक अवरुद्ध लगातारको वर्षाले कालीगण्डकी करिडोरसहित गुल्मीका तीन वटा मुख्य सडक अवरुद्ध छन् । कालीगण्डकी करिडोरको गुल्मीखण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
त्यसैगरी मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा पहिरो गएको र रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ डहरेखोलामा पानीको बहाव बढेका कारण आज बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
यात्रु र गाडी बिच बाटोमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउन स्थानीय पालिका र सडक निर्माण कम्पनीले आवश्यक उपकरण तयारी अवस्थामा राखेका छन् । लगातार पानी परेकाले खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले विपद्जन्य जोखिम रहेकाले नदीखोला आसपास बसोबास गर्ने तथा पहिरो जोखिम क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ ।