नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए ।
सार्वजनिक यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि भएको उनले बताए ।
उपत्यकामा भित्रिने र बाहिरिने प्रमुख स्थानलगायत देशभर मादकपदार्थ र लागुपदार्थ सेवन गर्ने सवारी चालकको स्वास्थ्य अवस्थाबारे जाँच गर्ने, लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि अनिवार्य रूपमा यान्त्रिक अवस्थालगायतको परीक्षण गर्ने निर्णय भएको छ ।
चाडपर्वको समय नजिकिँदै गरेको अवस्थामा यात्रुवाहक सवारी यातायातको चाप अत्याधिक बढ्न गई सडक दुर्घटनासमेत बढ्नसक्ने जोखिमलाई मध्यनजर गरी प्रभावकारी अनुगमन एवं निगरानीको व्यवस्था मिलाइने पनि जनाइएको छ ।
चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र भित्रिने यात्रुलाई सहजीकरण गर्न उपत्यकाका १५ स्थानमा सिप्रदी÷नाडाको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरिनेसमेत जनाइएको छ ।
चाडपर्व अवधिभर अनुगमन कार्यका लागि यातायात व्यवस्था विभागले सरोकार भएका निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने निर्णय भएको छ । उक्त कार्यका लागि प्रदेशमा रहेका यातायातसँग सम्बन्धित मन्त्रालयको समेत सहयोग लिइने छ । -रासस