जेनजी आन्दोलन : शहीद परिवारलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ दिइने

जेनजी आन्दोलन : शहीद परिवारलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ दिने र आन्दोलनमा भएको दमनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । क्षतिपूर्तिबापतको उक्त रकम अर्थ मन्त्रालयमार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण गरिने उनको भनाइ छ ।

गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ । आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव सम्बन्धित स्थानमा पुर्याउन सवारीसाधनको व्यवस्था पनि सरकारले मिलाउने उनले बताए । दुर्गमको हकमा भने हेलिकप्टरमार्फत मृतकको शव सम्बन्धित ठाउँमा पुर्याइनेछ । साथै अन्तिमसंस्कारमा समेत सरकारले सघाउने उनले बताए ।

गृहमन्त्री अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको मन्त्री अर्यालले बताए ।

उनका अनुसार  सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णयसमेत गरेको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाउने निर्णयसमेत भएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले जानकारी दिए ।

सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको समेत छ । यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

‘जुन जनधनको क्षति भयो‚ ज्यादती भयो । यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको हो ।’

उनले उक्त आयोगमा को को हुने भन्नेबारे टुंगो नलागेको बताए । सकेसम्म पूर्वन्यायाधीश नै आयोगको संयोजक हुनेगरी अघि बढ्ने आशा उनले व्यक्त गरे । हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको सरकारको तथ्यांकमा उल्लेख छ । 

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका वेला प्रहरीले दमन गरेको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा धेरै जनधनको क्षति भएको थियो ।

खबरपाटी
खबरपाटी