जेनजी पुस्ताको प्रदर्शन आज

जेनजी पुस्ताको प्रदर्शन आज

काठमाडौं । जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो ।  काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ । 

तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोह तयारीमा जेनजी लागेका हुन् । सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सन्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो ।  

सरकारले अचानक सामाजिक सञ्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित आफूहरू भएको जेनजी पुस्ताको दाबी छ । 

सामाजिक सञ्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले आज बृहत् प्रदर्शन गर्न लागेको हो । सामाजिक सञ्जालको पहुँच बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरूले सरकार विरुद्ध स्वतः स्फूर्त प्रदर्शनको घोषणा गरेका छन् । 

सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई–कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले प्रदर्शनको घोषणा गरेका हुन् । 

खबरपाटी
खबरपाटी