काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चीन भ्रमणमा निस्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान गरेपछि सामाजिक सञ्जालमार्फत भ्रमणको शुभकामना दिँदै उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको कुरा चीनलाई सम्झाउन आग्रह गरेका हुन् ।
मेयर बालेनले लेखेका छन्, 'चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । All the best हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।'
ओलीका कट्टर आलोचकका रूपमा देखिएका बालेनले यसपल्ट ओलीका लागि सफ्ट भाषा प्रयोग गरेका छन् । यसअघि उनले ओलीलाई भ्रष्टाचार र अपराध संरक्षणसँग जोडेर आलोचना गरेका थिए ।
अघिल्लो साता भारत र चीनले नेपाली भूभाग लिपुलेकबाट एकतर्फी रूपमा व्यापारिक नाका सञ्चालनमा ल्याउने सहमति गरेका थिए । यसप्रति नेपालले आपत्ति जनाइसकेको छ । यही बेला प्रधानमन्त्री चीन भ्रमणमा गएका छन् । मेयर बालेनले यस अवसरमा लिपुलेकमा नेपालमाथि अन्याय भएको कुरा उठाउन अनुरोध गरेका हुन् । यसअघि कूटनीतिज्ञ, दलका नेता र सांसदहरूले पनि प्रधानमन्त्रीलाई लिपुलेकबारे कुरा उठाउन सुझाव दिएका थिए ।