रुसको युक्रेनमाथि अहिलेसम्मकै दोस्रो ठूलो हवाई आक्रमण, २१ जनाको मृत्यु

रुसको युक्रेनमाथि अहिलेसम्मकै दोस्रो ठूलो हवाई आक्रमण, २१ जनाको मृत्यु

रुसले युक्रेनमाथि अहिलेसम्मकै दोस्रो ठूलो हवाई आक्रमण गरेको छ, जसमा २१ जनाको मृत्यु भएको छ ।

यो आक्रमण बिहीबार राति राजधानी किभमा भएको हो । यस आक्रमणमा युरोपियन युनियन (ईयू) र बेलायती काउन्सिलका भवनहरूमा समेत क्षति पुगेको छ ।

किभ शहरको सैन्य प्रशासन प्रमुख तिमुर ट्काचेनको अनुसार मृतकमध्ये २, १४ र १७ वर्षका बालबालिकाहरू पनि छन् । रूसले एकै रातमा युक्रेनमाथि ६२९ हवाई हमला हतियारहरू प्रहार गरेको युक्रेनको हवाई सेनाले जनाएको छ, जसमा ५९८ ड्रोन र ३१ मिसाइल समावेश थिए ।

हवाई सेनाका सञ्चार प्रमुख युरी इह्नातले सीएनएनसँग भने, ‘यो हमलालाई युक्रेनमाथि अहिलेसम्म गरिएका सबैभन्दा ठूला संयुक्त आक्रमणहरूमध्ये एक मान्न सकिन्छ ।’

सैन्य-उद्योग प्रतिष्ठानहरू र युक्रेनका सैन्य एयर बेसहरूमाथि उच्चप्रविधियुक्त हतियार प्रयोग गरेर आक्रमण गरिएको रूसको रक्षा मन्त्रालयले जनाएको छ । रुसले यो अभियान अझै जारी रहने बताएको छ ।

त्यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई सामान्य नागरिकहरूको भयानक र योजनाबद्ध हत्या भन्दै निन्दा गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘यी रुसी मिसाइलहरू र ड्रोन आक्रमणहरू उनी सबैका लागि स्पष्ट सन्देश हुन्, जो हप्ता र महिनौंदेखि युद्धविराम र कूटनीतिक समाधानको माग गर्दै आएका छन् ।’

युक्रेनी अधिकारीहरूले बताएअनुसार सयौं आपतकालीन उद्धारकर्मीहरू विभिन्न स्थानहरूमा पठाइएको छ, जसमा ईयू मिसनको प्रयोगमा रहेको भवन पनि समावेश छ ।

खबरपाटी
खबरपाटी