काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला पूर्वमन्त्रीमन्त्री बहादुर सिंह लामा पक्ष काठमाडौँमै बसेर बार्गेनिङमा लागेको छ ।
आफ्नो पक्षबाट तीन जना मन्त्री नियुक्त गरिनुपर्ने बटमलाइनमा रहेको पूर्वमुख्यमन्त्री लामा पक्षले सो माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नै नदिने अडान लिएको हो ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ४ गते प्रदेशसभाको बैठक बोलाइएको छ । तर, यो समाचार तयार पर्दासम्म पूर्वमुख्यमन्त्री बहादुर सिंह लामासहितका एक दर्जन सांसद काठमाडौँमै रहेका छन् ।
बहादुर पक्षीय सांसद कुन्दन काफ्लेले आफूहरू अहिले काठमाडौँमै रहेको रातोपाटीलाई बताए । उनले आफूहरूको माग पूरा गराउनका लागि छलफल चलिरहेको भन्दै मुख्यमन्त्री इन्द्र बानियाँको कार्यशैलीमै प्रश्न रहेकाले अब के हुन्छ भन्ने उनमै भर पर्ने बताए ।
‘हामी अहिले काठमाडौँमै छौँ । यो भन्दा बढी केही भन्नु छैन । छलफल होला, सहमति कार्यान्वयन होला’, उनले भने । लामा पक्षकै एकाध सांसद भने हेटौँडा पुगेपनि अधिकांश भने काठमाडौँमै रहेको अर्का एक सांसदले बताए ।
लामाले आफू पक्षका तीन सांसदलाई मन्त्री बनाउन भनेपनि बानियाँले त्यसमा असहमति राख्दा समस्या भएको हो भने विश्वासको मत जुटाउनै बानियाँलाई सकस परेको हो।
उसो त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बानियाँलाई विश्वासको मत दिन भन्दै समूहलाई निर्देशन दिइसकेका छन् ।
देउवाले आफूलाई भेट्न आएका लामा समूहका सांसद गोविन्द लम्सालसहितका सांसदलाई विश्वासको मत दिन निर्देशन दिँदै त्यसपछि मन्त्री नियुक्त गर्न आफूले बानियाँलाई भन्ने बताएका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी कार्यालय सानेपामा देउवालाई भेट्न आएका लम्सालसहितका सांसदलाई विश्वासको मत दिन निर्देशन दिएको जानकारी दिए । ‘पार्टी कार्यालयमा गोविन्द लम्सालसहितका सांसदहरू आउनुभएको थियो । उहाँहरूलाई पहिला विश्वासको मत दिनुस् त्यसपछि मन्त्री नियुक्त गर्न म भन्छु भनेर निर्देशन दिनुभएको छ,’ स्वकीय सचिव देउवाले रातोपाटीसँग भने ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको हो।
११० सदस्यीय प्रदेशसभामा बहुमत पाउन ५६ सांसदले बानियाँलाई विश्वासको मत दिनुपर्छ। कांग्रेसका ३७ र एमालेका २७ गरी उनका पक्षमा ६४ सांसद हुनुपर्ने हो । तर, लामाको समूहमा १४ सांसद छन् । उनीहरूले विश्वासको मत नदिएमा बहुमत पाउन सक्ने अवस्था छैन ।
यस्तै बानियाँलाई समेत देउवाले लामाको माग पूरा गर्न निर्देशन दिइसकेका छन् । देउवाको निर्देशनका बिच पनि हालसम्म सहमति नजुटेको हो ।