शिक्षक बढुवामा सरकारकै प्रस्तावमा फर्कियो शिक्षा समिति, तीन किसिमले बढुवा हुने

शिक्षक बढुवामा सरकारकै प्रस्तावमा फर्कियो शिक्षा समिति, तीन किसिमले बढुवा हुने

काठमाडौँ – शिक्षकको बढुवामा संसदको शिक्षा तथा स्वास्थ्य प्रविधि समितिले यसअघि गरेको निर्णय परिमार्जन गर्दै सरकारले ल्याएकै प्रस्तावमा फर्किएको छ।

विद्यालय शिक्षा विधेयकमा सरकारले शिक्षकको बढुवा तीन किसिमबाट हुने प्रस्ताव गरेको थियो। शिक्षा समिति अन्तरगतको उपसमितिले सरकारले तीन किसिमकोे प्रस्तावलाई दुईमा झारेको थियो।

उपसमितिले आन्तरिक प्रतियोगिता र आवधि बढुवाको मात्रै प्रावधान राखेको थियो। तर शिक्षक महासंघको चासो, सरकार र समितिको परामर्शपछि अब ‘आवधि बढुवा’लाई बिहीबार समितिले सरकारले प्रस्ताव गरे जस्तै ‘जेष्ठता र कार्यसम्पादन मूल्यांकन’ तथा ‘कार्य क्षमताको मूल्यांकन’को आधारमा बढुवाको प्रावधान राख्ने निर्णय गरेको छ।

सरकारले ल्याएकै प्रस्तावमा प्रतिशत हेरफेर गरेर बढुवाको तीन किसिमको बाटोमा फर्किनाले शिक्षकको वृद्धि विकासमा टेवा पुग्ने सांसदहरुको भनाइ छ।

अब शिक्षकको बढुवा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्य सम्पादन मूल्यांकन र कार्य क्षमताको मूल्यांकनको आधारमा हुनेछ। अहिलेसम्म शिक्षकको आवधिक बढुवा मात्रै हुँदै आएको थियो।

बिहीबार समितिले गरेको निर्णयअनुसार अब आधारभूत तहमा तृतीय श्रेणीका शिक्षकको पदपूर्ति शत प्रतिशत खुला प्रतियोगगिताका आधारमा हुनेछ।

शिक्षकको कार्यसम्पादन मूल्यांकनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकन औसतमा नब्बे प्रतिशतत प्राप्त गरेको हुनुपर्ने उपसमितिको प्रतिवेदनलाई समितिले बिहीबार असी प्रतिशतमा झारेको छ। यो अंक घटाउन शिक्षक महासंघले चर्को दबाब दिएको थियो। यस्तो प्रावधानले शिक्षकको बढुवामा खुकुलोपन ल्याउनेछ।

उपसमितिले यसअघि दिएको प्रतिवेदन संशोधन सहित पारित भएको । समिति सभापति अम्मर बहादुर थापाले प्रतिवेदन लेख्न सचिवाललाई निर्देशन दिएका छन्। शिक्षक महासंघले विधेयक पारित गर्न भदौ दोस्रो हप्तासम्मको अल्टिमेटम दिएको छ।

खबरपाटी
खबरपाटी