विवादित नेपाल टी-२० लिगको तलब अझै नपाएपछि करण केसीको प्रश्न– ‘कसले दियो क्लिनचिट?’

विवादित नेपाल टी-२० लिगको तलब अझै नपाएपछि करण केसीको प्रश्न– ‘कसले दियो क्लिनचिट?’

काठमाडौं । २०७९ सालको पुस महिनामा भएको नेपाल टी-२० खेलेका कतिपय खेलाडीले अझै पनि पारिश्रमिक पाएका छैनन्।

फ्रेञ्चाइज टिमले नदिएको पारिश्रमिक दिलाउने भनेर खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आश्वासन दिएको थियो। तर त्यो आश्वासन अझै पूरा नभएको राष्ट्रिय टोलीका खेलाडीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।

क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैयाले एक अन्तर्वार्तामा नेपाल टी-२० लिगबारे भनेका छन्, ‘त्यो विषय प्रक्रियागत हिसाबले मिलेको छ भन्नु भएको छ। त्यसमा आर्थिक रुपले घाटा भएको छैन। दुई करोड नाफा भएको भन्नु भएको छ। हाम्रो अनुसन्धानको निकायले क्लिन चिट दिनु भएको छ।’

यहि भिडिओ क्लिप राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसीले इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै लेखेका छन्, ‘कसरी क्लिनचिट, कसले दियो क्लिनचिट, प्लेयरले अझैसम्म पैसा पाएको छैन, कसरी क्लिनचिट!’

करण जस्तै इन्स्टाग्रामम लोकेश बम, भीम सार्की र कमलसिंह ऐरीले पनि सेयर गरेका छन्। तत्कालिन लिगमा करण र भीमले फार वेस्ट युनाइटेडबाट खेल्दा कमल र लोकेश काठमाडौं नाइट्समा आबद्ध थिए। 


खेलाडीहरूले आफ्नो अन्तर्वार्ताको क्लिप सेयर गर्दै प्रश्न गरेपछि केन्द्रीय सदस्य मजगैयाले पनि खेलाडीले गरेको प्रश्नलाई स्वभाविक रूपमा लिएको बताएका छन्। 

‘केही खेलाड़ीले उठाएको प्रश्न साँच्चिकै उचित छ। क्यानको पोखरा एजिएममा हामीले नेपाल टी-२० को सम्पूर्ण बाँकी रकम खेलाडीहरूलाई दिने निर्णय गराउन लडेका थियौँ, र त्यो प्रस्ताव जिल्ला प्रदेशका साथीहरूको सहयोगमा पारित पनि भयो। त्यसपछि म सम्मिलित नयाँ बोर्डको बैठकमा फेरि यो विषय उठाएँ र खेलाडीलाई पैसा दिने निर्णय पनि गरियो। बारम्बार खेलाड़ीलाई पैसा दिन आग्रह हामीले गरेको हौं! हामीलाई लागेको थियो खेलाडीले पैसा पाएको होलान!’

उनले अघि भनेका छन्, ‘यही कारण हो कि म निरन्तर पारदर्शिता र जवाफदेहिताको कुरा उठाइरहेको छु। संस्था व्यक्ति होइन विधि र विधानमा चल्नुपर्छ, बोर्डले र हाम्रो सर्वोच निकाय एजिएमले पास गरेको निर्णय किन कार्यान्वयन भएन? खेलाडीको पैसा दिने निर्णय पारित गरिसकेको धेरै भयो। अब कार्यान्वयन नगर्ने र खेलाडीको हकको पैसा कहाँ र कसरी अड्किएको छ?’

उनका अनुसार नेपाल टी-२० का ६ मध्ये काठमाडौंका खेलाडीले २५ प्रतिशत र फार वेस्टका खेलाडीले ३५ प्रतिशत पारिश्रमिक पाउन बाँकी छ। उनले क्यान सो लिगबाट नाफा भएको भनिएको २ करोड ३० लाखबाट खेलाडीले पाउनु पर्ने ६५ लाख रुपैयाँ तुरुन्त दिनुपर्ने पनि बताएका छन्। 

त्यतिबेला खेलाडीले पारिश्रमिक समयमै नपाएको र स्पट फिक्सिङ भएको घटना सार्वजनिक भएपछि पहिलो संस्करणको नेपाल टी-२० लिग विवादित बनेको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका केही केन्द्रीय सदस्य उक्त लिग आयोजना गर्न लागि परेका थिए। ७ जना केन्द्रीय सदस्यले भने विरोध गरेका थिए। 

बेटिङ पृष्ठभूमिको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई क्यानले आयोजनाको सम्पूर्ण अधिकार दिएपछि विवाद सुरू भएको थियो। लिगकै दौरान स्पट फिक्सिङ भएको सार्वजनिक भएपछि सेभेन थ्रीका प्रमुख जतिन अहुवालिया भारत भागेपछि थप आशंका बढेको थियो।

लिग सुरू हुनुअघि क्यानमाथि गम्भीर आरोप लागेका थिए। बेटिङ पृष्ठभूमिको कम्पनीलाई लिग आयोजना गर्न दिँदा नेपालमा अवैध बेटिङ र सम्भावित फिक्सिङका बारेमा पटक-पटक प्रश्न उठेका थिए। तर क्यान नेतृत्वले प्रश्नको उचित जवाफ दिन आवश्यक ठानेन। लिग रोक्नका लागि अवरोध भइरहेको भएको भन्दै नेतृत्वबाट सार्वजनिक रूपमै आक्रोश व्यक्त भयो। 

लिग सुरू हुनअघि विदेशी खेलाडीले श्रम स्वीकृति लिनु पर्ने विषयमा क्यान जानकार थियो। त्यसैले क्यानले सिफारिसका लागि राष्ट्रिय खेलकुद परिषद्‌मा पत्राचारसमेत गर्‍यो। तर खेलकुद परिषद्ले लिगका आवश्यक कागजपत्र मगाएर हेरेपछि मात्र सिफारिस गर्ने बतायो।

क्यानले कागजपत्र समयमै पठाउन सकेन। लाखौं पारिश्रमिकमा अनुबन्धन भएका विदेशी खेलाडी श्रम स्वीकृतिबिना मैदानमा उत्रिए। नेपाली प्रशासनले आँखा चिम्लियो।

लिग चलिरहँदा खेलाडीले पारिश्रमिक नपाएका खबर आए। पारिश्रमिक नपाएपछि जिम्बावेका सिकन्दर राजा बीचमै फर्किएको समाचार सार्वजनिक भएपछि अरू टिमको समस्या पनि बाहिर आउन थाल्यो। टिमको मालिक ‘डमी’ को रूपमा खडा गरिएको आरोपलाई पुष्टि गर्ने गरी व्यवस्थापकहरू खेलाडीको सम्पर्क बाहिर गए। जसका कारण खेलाडीहरूले टिमबाट समयमै पारिश्रमिक पाउन सकेनन्। कतिपय खेलाडीले अझै पारिश्रमिक पाएका छैनन्।

लिगमा स्पट फिक्सिङ भएको र मुख्य योजनाकार सेभेन थ्रीका जतिन भएको नेपाल प्रहरीले निष्कर्ष निकालेको थियो। 

पछि स्पट फिक्सिङ घटनामा पाँच जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरियो। यद्यपीले अदाततले पछि दाबी नपुगेको भन्दै सबैलाई सफाइ दिएको थियो।

खबरपाटी
खबरपाटी