प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठक निर्णय

प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठक निर्णय

सुर्खेत– कर्णाली प्रदेशसभा चालू अधिवेशन बुधबार राती १२ बजेबाट अन्त्य गर्ने कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चालू वर्षे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो । 

बैठकले सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश  बमोजिम जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।


बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।

यसका साथै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गरिएको छ । स्वीकृत कार्यविधि अनुसार कार्यविधि अनुसार पत्रकारिता पेशामा दुई दशकदेखि क्रियाशील रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा विशेष योगदान पुर्‍याएका एक जनालाई कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । 


जसको राशी ७५ हजार रहेको छ । पत्रकारितामा पेशमा सात वर्षदेखि क्रियाशील रहेका एक जनालाई ५० हजार राशीको कर्णाली वर्ष उत्कृष्ट पुरस्कार प्रदान गर्नेछ । त्यस्तै पत्रकारिता पेशामा पाँच वर्षदेखि क्रियाशील एक जनालाई कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरिनेछ । 

जसको राशी ३५ हजार रहेको छ भने कर्णाली विकास पत्रकारिता र समावेशी पत्रकारिता पुरस्कार जनही २-२ जनालाई प्रदान गरिनेछ । ती पुरस्कारको राशी समान ३५ हजार रहेको छ ।

यस्तै सूचनाको हकसम्बन्धी कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति गठन गरिएको छ । उक्त समिति प्रदेशका विभिन्न कार्यालयमा सूचनाको हक लागू भए- नभएकोबारे अनुगमन गर्नेछ ।

खबरपाटी
खबरपाटी