काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ुअसली राजा नभएकोु टिप्पणी गरेका छन् ।
आइतबार बालुवाटारमा आयोजित ‘लोकतन्त्र र जनअभिमत स् नेपालको निर्वाचन इतिहास’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डपछि शाहलाई ुकुशको राजाु बनाइएको दाबी गरे ।
‘दरबार हत्याकाण्ड सानो घटना होइन,’ ओलीले भने, ‘त्यसपछि एउटा कुशको राजा स्थापना गरियो । त्यो असली राजा होइन । राजा, रानी, युवराज सबै मारिए । त्यसपछि कतै नदेखिएको भाइ खोजेर ल्याएर राजगद्दीमा राखियो ।’
उनले दरबार हत्याकाण्डलाई पूर्वयोजना अनुसारको घटनाका रूपमा समेत चित्रण गरे । ‘दरबार हत्याकाण्डको परिकल्पना गरियो,’ ओलीको आरोप थियो, ‘त्यस बाटो भएर आएका राजाले फेरि जनताको अधिकार खोस्ने प्रयास गरे ।’
पूर्वराजा ज्ञानेन्द्रले शासन पुनःस्थापित गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि मुद्दा चलाउने प्रयास गरिएको स्मरण गर्दै ओलीले भने, ‘एउटा कठपुतली आयोग बनाएर अख्तियारलाई छाडेर देउवामाथि मुद्दा चलाउने प्रयास गरिएको थियो । त्यो सारा २००७ सालमा राजतन्त्र पुनःस्थापना गरिएकै परिणाम थियो ।’
ओलीले राजा ज्ञानेन्द्र २००१ मा दिल्ली पुगेकै बेला त्यहीँ रहने वातावरण बनाइएको भए उपयुक्त हुने धारणा पनि राखे । ‘दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए हुन्थ्यो होला । राजा फर्काउँदैनौँ, अरू कुरामा सम्झौता गर्छौँ भने पनि मिल्थ्यो,’ उनले थपे ।