राजीनामा दिने तयारीमा वाग्मतीका मुख्यमन्त्री

राजीनामा दिने तयारीमा वाग्मतीका मुख्यमन्त्री

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजीनामा दिने तयारी गरेका छन् । आजै लामाले प्रदेश प्रमुखलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँगको पटकपटकको बैठक र वाग्मती कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँसहित शनिबार भएको छलफलपछि लामा राजीनामा दिन तयार भएका हुन् ।

मुख्यमन्त्री लामाले बानियाँमाथि आफूसँग समन्वय नगरेको, मुख्यसचिव र सचिवहरूलाई माघदेखि नै काम नगर्न भनेको, वैशाखदेखि आफू मुख्यमन्त्री बन्ने र बजेट आफैँ ल्याउने भनेर काममै अवरोध गर्ने प्रयास गरेको, प्रदेशमा आफूखुसी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेकोसहित आरोप लगाएर मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान राखेका थिए । उनले संसद्‌मा अल्पमतमा परे मात्र राजीनामा दिने घोषणा गरेका थिए ।

केन्द्रले उनलाई पद छाड्न दबाब दिएपछि लामाले विपक्षीसँग विश्वासको मत माग्ने चेतावनीसमेत दिएका थिए ।

तर, देउवाले पटकपटक वार्ता गरेर सहमत गराएपछि लामा राजीनामा दिन तयार भएका हुन् । बानियाँले वर्तमान सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिने, लामाले पछिल्लोपटक बनाएका तीन जनालाई मन्त्रिपरिषदमा राख्नेसहित विषयमा सहमति जनाएको नेताहरूले बताएका छन् ।

खबरपाटी
खबरपाटी