सिँचाइका लागि विद्युत् शुल्क घटाएको प्रधानमन्त्रीको गलत दाबी

सिँचाइका लागि विद्युत् शुल्क घटाएको प्रधानमन्त्रीको गलत दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइको लागि विद्युत् शुल्क घटाएको गलत दाबी गरेका छन् । बुधबार आफ्नो फेसबुकमा सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँमा बिजुली भन्दै राखेको स्टाटसमा उनले विद्युत् शुल्क घटाएको फोटो राखेका थिए । 

तर, नेपाल विद्युत् प्राधिकरणले सिँचाइको लागि प्रतियुनिट २ रुपैयाँ २५ पैसादेखि ३ रुपैयाँ शुल्क लिने गरेको छ । यो प्राधिकरणको पुरानै शुल्क हो । 

प्राधिकरणको विद्युत् महसुल दरमा तल्लो भोल्टेज स्तर (२३०/४०० भोल्ट) र माथिल्लो भोल्टेजका सिँचाइ उपभोक्तालाई प्रतियुनिट २ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ ।

टाइम अफ डे (टीओडी) मिटरअन्तर्गत ३३ केभीका सिँचाइमा कम खपत हुने समय (राति ११ देखि बिहान ५) सम्म २ रुपैयाँ, बिहान ५ देखि साँझ ५ सम्म ३ रुपैयाँ र उच्च माग हुने समय बेलुका ५ देखि ११ बजेसम्म ६ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।

पीक समयमा केही महँगो भए पनि अन्य समयमा सिँचाइतर्फ २ देखि ३ रुपैयाँ रहेको महसुल घटाएको भनेर प्रधानमन्त्रीले ‘स्टन्ट’ देखाएका छन् ।
 

खबरपाटी
खबरपाटी