काठमाडौं-नेपाली हिन्दु परम्परामा साउन महिना विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको महिना हो। वर्षा ऋतुको चरम समय साउनमा हरियालीले पृथ्वी झन् झिलिमिली हुने मात्र होइन, महिलाहरूको पहिरन र सिंगारमा पनि हरियालीले विशेष स्थान पाउँछ। विशेष गरी हरियो चुरा र मेहेन्दीको प्रचलन यस महिनामा अत्यधिक देखिन्छ। तर, यसको पछाडि लुकेको सांस्कृतिक र भावनात्मक महत्वलाई बुझ्नु जरुरी छ।
हरियो चुरा महिलाहरूको सुहाग चिन्हको रूपमा लिइन्छ। हरियो रंगले हरियाली, समृद्धि र शुभताको प्रतीक जनाउँछ। विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै हरियो चुरा लगाउँछन्। साउन महिना भगवान शिवको आराधना गर्ने पवित्र समय भएकोले महिलाहरू सोमबार ब्रत बस्ने, हरियो चुरा लगाउने, र पूजापाठ गर्ने गर्दछन्। चुरा लगाउँदा हात सुन्दर देखिने मात्र होइन, यसले एक प्रकारको सकारात्मक ऊर्जा पनि दिने जनविश्वास छ।
मेहेन्दी (हिना) पनि साउन महिनामा महिलाहरूको सौन्दर्य सिंगारको महत्वपूर्ण अङ्ग मानिन्छ। हात र खुट्टामा लगाइने मेहेन्दीले महिलाको रूप झनै निखार्ने मात्र होइन, यसले शीतलता दिने गुणका कारण स्वास्थ्यमा पनि फाइदा गर्छ भन्ने जनविश्वास छ। मेहेन्दीको गहिरो र टिकाउ रंगलाई पतिको माया र दीर्घायुसँग जोडेर हेर्ने चलन छ।
साउन महिनामा महिला साथीहरूबीच चुरा, मेहेन्दी लगाउने कार्यक्रमहरू राख्ने, गीतगाउने र नाचगान गर्ने संस्कारले सामाजिक एकता र मेलमिलापलाई प्रगाढ बनाउँछ। युवतीहरूका लागि पनि साउन रमाइलो समय हो, जसमा उनीहरू सिंगारसुग्घर, उत्सव र परम्परा संगै रमाउने अवसर पाउँछन्।
यद्यपि साउनको चुरा र मेहेन्दी परम्परासँग जोडिएर आएको हो, आजको समयमा यो केवल धार्मिक कर्मकाण्ड होइन, नारी सौन्दर्य, आत्म–प्रकाश र सांस्कृतिक पहिचानको एउटा रूप पनि हो।
साउन महिना महिला सौन्दर्य, संस्कृति र आस्थाको समिश्रण हो। हरियो चुरा र मेहेन्दीले बाह्य सौन्दर्य मात्र होइन, एक प्रकारको भित्री आत्मिक खुशी, सामूहिक भावना र परम्पराको निरन्तरतासमेत बोकेको हुन्छ।