प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकमा व्यस्त : विकास साझेदारलाई औपचारिक च्यानलबाट आउन अनुरोध

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकमा व्यस्त : विकास साझेदारलाई औपचारिक च्यानलबाट आउन अनुरोध

काठमाडौं । संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टहरूमा व्यस्त रहे । 

प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजको अध्यक्षतामा भएको ‘विकास सहायतामा नयाँ सोच’ विषयक उच्चस्तरीय छलफलमा सहभागिता जनाउँदै राउण्ड टेबलमार्फत आफ्नो धारणा राखे । उनले विकास सहायता च्यारिटीका रूपमा होइन गरिबी निवारण, दिगो शान्ति र सामाजिक उत्थानका लागि साझा पहलका रूपमा लिनुपर्नेमा जोड दिए ।

‘समान विषयमा सरकार र गैरसरकारी संस्थाबाट साना–साना परियोजना छरिएर चलाइँदा समतामूलक विकासमा गति आउँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सहायतालाई एकीकृत र औपचारिक च्यानलमार्फत परिचालन गर्न जरुरी छ । सेभिया प्रतिबद्धताले पनि हामीलाई यही बाटो देखाउँछ ।’

प्रधानमन्त्री ओलीले अल्पविकसित तथा साना द्वीपीय मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै विकसित राष्ट्रहरूलाई आफ्नो सहायता प्रतिबद्धता व्यवहारमै पूरा गर्न आग्रह गरे । खानेपानी र सरसफाइमा लगानीसम्बन्धी बैठकमा उनले दिगो विकासका लागि वैज्ञानिक, प्राविधिक र नवप्रवर्तनात्मक शक्तिको उपयोग अपरिहार्य रहेको बताए ।

उनले औपचारिक विकास सहायतालाई राष्ट्रिय प्राथमिकता र योजनासँग समन्वय गर्दै परिचालन गर्न आग्रह गरे । घरेलु स्रोत परिचालन, निजी क्षेत्रको लगानी र मिश्रित वित्त प्रणालीलाई सशक्त बनाउनसमेत उनले सरोकारवालासँग अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले सेभिया प्रतिबद्धताले निष्पक्ष, समावेशी र दिगो भविष्य निर्माण गर्ने आशा दिलाउने विश्वास व्यक्त गरे ।

‘सही वित्तीय विश्लेषणको आधारमा लगानी बढाएर गरिबीसँग लड्न, क्षमतावृद्धि गर्न र दिगो अवसर सिर्जना गर्न अब हामी सबै एक भएर अघि बढ्नुपर्छ,’ उनले भने । 

खबरपाटी
खबरपाटी