दुई वटा ट्रक ठोक्किएर घाइते चालकको तीन घण्टापछि उद्धार

दुई वटा ट्रक ठोक्किएर घाइते चालकको तीन घण्टापछि उद्धार

काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जङ्गलमा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटनामा परेका चालकको तीन घण्टापछि उद्धार गरिएको छ ।

आइतबार राति एउटै दिशाबाट जाँदै गरेको दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्टेरिङमा च्यापिएका चालकलाई ट्रकको झ्याल काटेर तीन घण्टापछि  निकालिएको हो ।

दुर्घटनमा परी चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय चालक अरुण श्रेष्ठ घाइते हुनुभएको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उहाँको उद्धार गरेको हो ।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फको साइडमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक  हुनुहुन्छ ।

उद्धार पश्चात् उहाँलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक भने सामान्य हुनुहुन्छ । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको बताइएको छ । 
 

खबरपाटी
खबरपाटी