काठमाडौं । भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका दर्जनौँ बस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र, शिवनगर, क्याम्पस रोड, रातोपुल, हसनपुर, तारानगर, शिक्षा टोल, श्रीलंका लगायतका बस्तीका कयौँ घरमा पानी पसेको छ । कहिल्यै डुबानमा नपरेको तारानगर क्षेत्र पनि जलमग्न भएको स्थानीय रतन कठायतले जानकारी दिए ।
यस्तै, निरन्तरको वर्षाका कारण धनगढी उपमहानगरको मुख्य सडक र आधा दर्जन भित्री सडक पनि जलमग्न भएका छन् । मुख्य सडकमा रहेका पसलहरूमा पानी पसेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी बजारको वरिपरि भएर बग्ने मोहना नदीमा पनि पानीको बहाब बढ्दै गएको बताए । ‘पानी रोकिएको छैन,’ उनले भने, ‘मोहना नदीमा पनि पानीको सतह निरन्तर बढिरहेको छ । तटीय क्षेत्रमा जोखिम बढेको छ ।
यस्तै, निरन्तरको वर्षाले कतिपय विद्यालय पनि डुबानमा परेपछि बिदा दिइएको छ । ऐश्वर्य विद्या निकेतनका निमित्त प्राचायै सन्जय पन्तले एक दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिए । यस्तै, ग्यालेक्सी स्कुलले पनि बिदा दिएको छ ।
धनगढी उपमहानगर क्षेत्रमा रहेका खोलानालाको जग्गासमेत नगर विकास समितिले बिक्री गरेपछि धनगढीमा डुबानको समस्या निम्तिएको हो । पछिल्लो समय निर्माण भएका सडकको उचाई बस्तीभन्दा धेरै भएपछि डुबानको समस्या झन् बढेको छ ।