काठमाण्डौ – सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाउने निर्णयविरुद्ध सुनचाँदी व्यवसायीहरूले फेरि आन्दोलन सुरु गरेका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घको आह्वानमा आज (असार १३ गते) राजधानीका सुनचाँदी पसलहरू शटर बन्द गरी प्रदर्शन गरिएको छ।
व्यवसायीहरूले आजदेखि अनिश्चितकालीन व्यवसाय बन्द गर्ने घोषणा गरेका छन्। यसअघि असार ५ गतेदेखि सुरु भएको आन्दोलन केही समयका लागि स्थगित गरिएको थियो। तर, सरकारले माग सम्बोधन नगरेपछि आन्दोलनलाई फेरि निरन्तरता दिनुपरेको महासङ्घले जनाएको छ।
आन्दोलनका कारण काठमाडौंको प्रमुख सुनचाँदी बजार मानिने न्युरोड क्षेत्रको व्यापार पूर्णरूपमा ठप्प भएको छ। त्यस्तै, शटर बन्द र प्रदर्शनका कारण न्युरोड क्षेत्रको सडक यातायातसमेत प्रभावित भएको छ। प्रदर्शनकारी व्यवसायीहरूले सरकारसँग वार्तामा बस्न आग्रह गर्दै कर फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका विलासिता गहनामा २ प्रतिशत कर लगाउने घोषणा गरेको थियो। व्यवसायीहरू भने उक्त करले बजारमा प्रतिकूल असर पार्ने, उपभोक्ताको खर्च बढाउने र साना व्यवसायी धराशायी हुने भन्दै विरोधमा उत्रिएका हुन्।
महासङ्घहरूले यथाशीघ्र सरकारसँग वार्ता गरी कर खारेज गर्न माग गरेका छन्। अन्यथा संघर्षलाई देशभर विस्तार गर्ने चेतावनी दिइएको छ।