काठमाडौँ, असार १२ – नेपाल डेरी एसोसिएसनको आयोजनामा असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले “दही चिउरा खाने विशेष कार्यक्रम – २०८२” राजधानीको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालको उपस्थिति रहेको थियो।
कार्यक्रममा डेरी व्यवसायी, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्ता, युवाहरु तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष दाहालले आफ्नो मन्तव्यमा दही चिउरालाई असार १५ को परम्परागत आहार मात्र नभई कृषक र डेरी व्यवसायीप्रति कृतज्ञता प्रकट गर्ने अवसरको रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले दुग्ध व्यवसायको महत्त्व उजागर गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले दही चिउरा हाम्रो मौलिक परम्पराको अभिन्न अङ्ग भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनु आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण र दुग्ध उत्पादनमा आत्मनिर्भर बन्नु आवश्यक रहेको बताउँदै यस्ता सांस्कृतिक गतिविधिहरूले कृषक र दुग्ध व्यवसायप्रति सम्मान प्रकट गर्ने अवसर प्रदान गर्ने धारणा राख्नुभयो। उहाँले किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमा नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै डेरी व्यवसायीहरूलाई समयमै भुक्तानी गर्न आग्रह गर्नुभयो।
त्यसैगरी, उहाँले देशमा वार्षिक ११ देखि १३ लाख टन रासायनिक मलको माग भए पनि हालसम्म ४ लाख टनभन्दा बढी मल आयात हुन नसकेको जानकारी दिँदै यस्तो अवस्थाले किसानको उत्पादन क्षमतामा प्रत्यक्ष असर पार्ने बताउनुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डी.बी. खड्का, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादव लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।