काठमाडौँ, असार १०-लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय योगदान पुर्याउँदै आएका लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानका अध्यक्ष केशव शर्मा र महासचिव सुदर्शन आचार्य अन एयर मिडियाबाट सम्मानित भएका छन्।
अन एयर मिडियाले आफ्नो २०औँ वार्षिकोत्सव तथा राष्ट्रिय सम्मान २०८२ का अवसरमा आयोजना गरेको विशेष समारोहमा पत्रकारिता र सञ्चार सेवामा उल्लेखनीय योगदान पुर्याएका ३० जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको हो। सोही अवसरमा दुई जना विशिष्ट अतिथिलाई समेत विशेष अभिनन्दन गरिएको थियो।
नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा पूर्वप्रधानन्यायाधीश तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा सम्मान प्रदान गरिएको थियो। कार्यक्रमलाई नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती रूपा थापाले पनि आतिथ्य दिएकी थिइन्।
शर्मा सगरमाथा टेलिभिजनमा र आचार्य ग्लोबल टेलिभिजनमा आबद्ध छन्। उनीहरूको स्वतन्त्र, निष्पक्ष र खोजमूलक पत्रकारिताको मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको अन एयर मिडियाले जनाएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुखका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, वरिष्ठ समाजसेवी बाबुकृष्ण खत्री, उद्योगी प्रेम दाहाल, समाजसेवी नगेन्द्र न्यौपाने, समुन्नत महिला मञ्चकी अध्यक्ष समा खत्री, उपन्यासकार राधा भण्डारी, गायिका मधु रसाइली लगायत देशभरिका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन अन एयर मिडियाका अध्यक्ष भागिरथ पोखरेल र व्यवस्थापक आशा दाहालले गरेका थिए।