काठमाडौं, असार ७। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र अन्तर्राष्ट्रिय वित्तीय संस्था (IFC) को सहकार्यमा शुक्रबार काठमाडौंमा “इएसजी कार्यशाला” (Environment, Social, and Governance Workshop) सम्पन्न भएको छ।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दिगो भविष्य निर्माणका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) मापदण्डहरू अपरिहार्य रहेको स्पष्ट गर्नुभयो। उहाँले वर्तमान समयको व्यवसायिक धरातलमा इएसजी ट्रेन्ड मात्र नभई दीगो विकासका लागि एक अनिवार्य दिशा भएको बताउँदै, इएसजी मापदण्डले नेपालको जस्तो उदीयमान अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो।
“इएसजी अब जोखिम व्यवस्थापनका लागि मात्र होइन, अवसरको ढोका हो,” अध्यक्ष ढकालले भन्नुभयो, “यसले दीगो लगानी, समावेशी विकास र उत्तरदायी व्यापार संस्कृतिको जग बसाल्छ।” उहाँले राष्ट्र बैंकले ल्याएको पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धी निर्देशिकालाई महासंघले स्वागत गरेको जानकारी समेत दिनुभयो।
अध्यक्ष ढकालले हालसम्म महासंघले वातावरणीय स्थायित्व, सामाजिक उत्तरदायित्व र सुशासनका क्षेत्रमा अलग-अलग पहल गर्दै आएको उल्लेख गर्दै अब यी विषयलाई एकीकृत गरेर अघि बढ्ने योजना बनाइएको बताउनुभयो। उहाँले सरकारले ३० भन्दा बढी कानूनमा गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन हुने अपेक्षा पनि राख्नुभयो।
कार्यक्रममा सहभागीहरूबाट इएसजी सम्बन्धी तालिम र आवश्यक सीप विकासका प्राथमिकता पहिचान गर्न सर्वेक्षण समेत गरिएको थियो। कार्यक्रममा सरोकारवाला निकाय, निजी क्षेत्र, नीति निर्माताहरू र अन्तर्राष्ट्रिय साझेदारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
महासंघले आगामी दिनमा देशका विभिन्न प्रदेशहरूमा इएसजी कार्यशाला सञ्चालन गर्ने योजना बनाएको छ। कोशी प्रदेशमा त्यसको पहिलो विस्तार भइसकेको जानकारी दिइएको छ।
कार्यशालामा वातावरणीय संरक्षण, सामाजिक समावेशीकरण र संस्थागत सुशासनलाई एकैसाथ समेटेर दीगो आर्थिक वृद्धिको आधार तयार गर्नुपर्नेमा जोड दिइएको थियो।