काठमाडौं । बालकुमारी कन्या माध्यमिक विद्यालय, भरतपुर-२ मा रजस्वला स्वास्थ्य जनचेतना मेला सम्पन्न भएको छ । स्वास्त्यंगी, इनिसिएसन फर चेन्ज, युवा नेपाल र ग्रेस इन्टरनेसनल चितवनको संयुक्त आयोजनामा मेला सम्पन्न भएको हो ।
विश्वभर मे महिनालाई रजस्वला स्वास्थ्य जनचेतना महिनाको रुपमा मनाइने गरिन्छ । मे महिनाको अवसर पारी स्कुल पढने किशोरकिशोरीहरुलाई लक्षित गरेर आयोजना गरिएको मेलामा बालकुमारी कन्या मावि र लिटल फ्लावर स्कुलका ३०० बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।
मेलामा आठवटा स्टल रहेका थिए । हरेक स्टल रजस्वलाका विभिन्न विधाहरुका लागि निर्धरित थियो । अन्तर्क्रिया र छलफलका साथै विद्यार्थीहरूका लागि खेलहरु र फेस पेन्टिङका स्टलहरु पनि राखिएको थियो । यसका साथै सोही दिन रजस्वला शीर्षकमा चित्रकला प्रतिस्पर्धासमेत आयोजना गरिएको थियो । यस किसिमको रजस्वला स्वास्थ्य जनचेतना मेला चितवनमै पहिलोपटक आयोजना गरिएको स्वास्त्यंगीको सहसंस्थापक अश्नना अवस्थीले जानकारी दिइन् ।
स्वास्त्यंगी, पुरानो मेडिकल कलेजमा एमबिबिएस आध्यनरत विद्यार्थीहरुले स्थापना गरेको एक सामाजिक संस्था हो।
विशेषतः महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने यस संस्थाले विगतका दिनहरुदेखि भरतपुरका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीको सुरूवात, महिनावारीको समयमा प्रयोग गर्नुपर्ने स्यानिटरी न्याप्किन, मेनसुरल कप, टेमपुन र यसका साथै महिनावारीको बेलाका समस्या र यसका समाधानबारे आभिमुखीकरणको कार्यक्रम गर्दै आइरहेको छ ।





