क्यानडाको अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भयो : प्रधानमन्त्री कार्नी

क्यानडाको अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भयो : प्रधानमन्त्री कार्नी

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको बताएका छन् । राजधानी ओटावामा भएको मन्त्रिपरिषद् बैठकपछि बोल्दै प्रधानमन्त्री कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर निर्णयले क्यानेडियालीहरूलाई आफ्नो अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य पारेको बताउदै अमेरिकासँगको मूल रूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने र सुरक्षा तथा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा आधारित सम्बन्ध समाप्त भएको बताएका हुन् ।

कार्नीले क्यानडाले प्रतिशोधात्मक कर लगाउने बताउदै यसले अमेरिकामा अधिकतम प्रभाव पर्ने बताएका छन् । ट्रम्पले बुधबार आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । कार्नीले क्यानडा र संयुक्त राज्य अमेरिका बीचको १९६५ को अटोमोटिभ उत्पादन सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण सम्झौता भएको उल्लेख गर्दै नयाँ करले यो सम्झौता हटेको बताए ।

साथै कार्नीले ट्रम्पको कार्यालयबाट फोन वार्ताको तालिका बनाउने प्रस्ताव आएको र छिटै दुई नेताहरू बीच वार्ता हुन सक्ने बताए । यदि यसो भयो भने, कार्नी प्रधानमन्त्री बनेपछि ट्रम्प र कार्नीबीच फोनमा कुराकानी भएको यो पहिलो पटक हुनेछ ।

खबरपाटी
खबरपाटी