काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इजरायली सैनिकले गरेको आक्रमणमा परी २२ जनाको मृत्यु हुनुका साथै १२४ जना घाइते भएका छन् ।
बीबीसीका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त क्षेत्रबाट हिजबुल्लाह हट्ने तथा इजरायली सैनिक फिर्ता हुने समयसीमा पूरा भइसक्दा पनि सो क्षेत्रमा इजरायली सैनिकहरू बसिरहेका छन् ।
उता इजरायली सैनिकले भने चेतावनीको रूपमा केही क्षेत्रमा गोली चलाइएको बताएको छ । तर, उक्त आक्रमणमा घाइते भए या भएनन् भन्ने विषयमा भने इजरायली सेनाले प्रतिक्रिया दिएको छैन ।
इजरायली सेनाले भनेको छ( हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौता अहिले पूर्ण रूपमा लागू गरिएको छैन । अहिलेसम्म कति इजरायली सैनिक लेबनानमा छन् र उनीहरू कहिलेसम्म त्यहाँ रहनेछन् भन्ने स्पष्ट भएको छैन ।
लेबनानको स्वास्थ्य मन्त्रालयले भने इजरायलले कब्जा गरेको क्षेत्रमा जान प्रयास गरेका मानिसहरूमाथि इजरायली सैनिकले आक्रमण गरेको थियो । मारिनेहरूमा महिलाहरू पनि छन् । त्यस्तै घाइतेहरूमध्ये महिला र बालबालिका तथा स्वास्थ्यकर्मीसमेत छन् । साथै उक्त आक्रमणमा आफ्नो एक सैनिकको मृत्यु र एक सैनिक घाइते भएको लेबनानले जनाएको छ ।