काठमाडौं – टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीले आयोजना गरेको BIT र BCS को शैक्षिक अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज सम्पन्न भएको छ। आजको सत्रको मुख्य विषय थियो, “प्रविधि र दिगो विकास : BIT र BCS को भूमिका।”
सत्रमा प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। उनीहरूले विद्यार्थीहरूलाई प्रेरित गर्दै नेपालको भविष्यमा सूचना प्रविधिको महत्त्वका बारेमा जानकारी गराएका थिए।
प्यानल डिस्कसन सेसनमा सुबिसु इन्टरनेटका उपाध्यक्ष रामकृष्ण परियारले विद्यार्थीहरूलाई २०६५ साल अघिको र पछिको डिजिटल अवस्थालाई तुलना गर्न आग्रह गरे। उनले नेपालमा सूचना प्रविधि क्षेत्रलाई एक मात्र सकारात्मक पक्षको रूपमा चित्रण गरे।
CAN का महासचिव चिरञ्जीव अधिकारीले सगरमाथा र बुद्ध जस्तै नेपाललाई सूचना प्रविधि क्षेत्रमा विश्वमै चिनिने बनाउने अवसर विद्यार्थीहरूको हातमा रहेको बताए।
नेपाल प्रहरीका एसपी सरोज शाक्यले नेपाल प्रहरी र नेपाल सरकारमा सूचना प्रविधिको प्रयोगको सम्भावना र यसमा युवा पुस्ताको भूमिकाको बारेमा प्रकाश पारे।
त्यस्तै, अर्का एसपी दीपकराज अवस्थीले साइबर अपराधको बढ्दो चुनौती र सावधानी अपनाउन विद्यार्थीहरूलाई सुझाव दिएका थिए।
कार्यक्रमले विद्यार्थीहरूलाई प्रेरित गर्दै उनीहरूलाई आफ्नो ज्ञान र सीपलाई दिगो विकासको लागि प्रयोग गर्न प्रोत्साहित गरेको छ।