बुटवल । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा अवतरण हुने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
लामिछानेलाई भैरहवा ल्याउनका लागि लागि प्रहरीले उनलाई पोखरा विमानस्थल लगेको थियो । विहानैको उडान भए पनि मौसम प्रतिकूल बन्दा केहीबेरअघि मात्र पोखराबाट विमान भैरहवाका लागि उडेको छ ।
लामिछानेलाई बुटवल ल्याउने भएसँगै रास्वपाले भैरहवा केन्द्रित आन्दोलन थालेको छ ।
लामिछानेलाई विमानस्थलबाट ल्याइने भएपछि रास्वपा समर्थकहरुले एयरपोर्टबाट प्रदर्शन सुरु गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको अनुसन्धानका क्रममा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि लाने तयारी हुँदै गर्दा समर्थकहरु विमानस्थल परिसरमै जम्मा भएर प्रदर्शनमा उत्रिएका हुन् ।
रविलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लैजाने र त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने तालिका रहेको प्रहरीको भनाइ छ ।
बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।